काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित मितिअनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि पालिकाको अधिवेशन शुरु भएको छ ।
वडाअधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजबाट गाउँ नगर अभिवेशन शुरु भएको निर्वाचन समितिले जानाएको हो ।
कांग्रेस वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएर थियो । कांग्रेसले हालसम्म ६४ जिल्लाको वडा महाधिवेशन सम्पन्न गरिसकेको छ । यता काठमाडौं जिल्लको वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त भइनसकेका कारण पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ ।
त्यस्तै, ललितपुरको नगरपालिकास्तरीय अधिवेशन सोमबारबाट हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लाग्ने भएकाले मिति हेरफेर गरिएको बुझिएका छ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।