सप्तरी । सप्तरीमा समलिङ्गीहरु उपर हुने विभिन्न खाले हिंसा बारे सरोकारवालासंग अन्तरक्रिया सम्पन्न भएको छ। समलिङ्गीहरु सम्बन्धि कार्यरत संस्था सहयोगी समाजको आयोजनामा शनिबार राजविराज स्थित सो संस्थाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक दिलिप लामिछानेले संचालन गरेको उक्त कार्यक्रममा सरोकारवालाहरुले समलिङ्गीहरुलाई समाजमा समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । लिङ्गका आधारमा गरिने हिंसा विरुद्ध समलिङ्गीहरुले प्रतिवाद गर्नुपर्ने, आफू उपर हुने हिंसाको खुलेर विरुद्ध गर्नुपर्ने र साथै ती समुदायमा हुने हिंसाको कानुनी उपचार हुनुपर्ने सरोकारवालाहरुले धारणा राखेका थिए।
पत्रकार बैधनाथ झाले समलिङ्गीहरुलाई संविधानले प्रत्याभूत गरेको हक अधिकार पाउन अघि बढ्नुपर्ने बताउँदै समाजिक, राजनीतिक पहिचानका निमित्त ती समुदायले संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, इन्सेक प्रतिनिधि मनोहर पोखरेलले तेस्रो लिङ्गीले आफु उपर हुने हिंसाको खुलेर प्रतिवाद गर्नुपर्ने बताएका थिए । उनले हिंसा सहेर बस्नुले थप हिंसा हुनसक्ने भएकाले हिंसा विरुद्ध लड्न सुझाव दिएका थिए । संचारकर्मीहरु समलिङ्गी समुदायको हकहितका लागि सदैव प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा दिलिप लामिछाने,मनोहर पोखरेल,बैधनाथ झा,अनिता देवकोटा,नानी मैया कटवाल लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।