सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जिल्लाकै कान्छा अध्यक्ष निर्वाचित

सप्तरी ।   छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोसपाका २५ वर्षिय बिद्यानन्द चौधरी निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिका निवर्तमान अध्यक्ष, गाविसका पूर्व अध्यक्षलगायत १२ जनालाई पछि पार्दै लोसपाका चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

चौधरीले २ हजार ८९५ मत ल्याएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका थिए । गाउँपालिकाका निवर्तमान अध्यक्ष सुर्यनारायण मण्डलले ८ सय र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवले जम्मा ८९८ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की राजुदेबी यादव २ हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भएकी छन्  । उनकी निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेबी साहले १ हजार ५९५ मत ल्याएकी थिइन् । एमालेकी ललितादेबी मेहताले १ हजार ५१३ मत ल्याउँदा लोसपाकी उषाकुमारी मण्डल र जसपाकी आशा साहले समान १ हजार ३८४ मत ल्याएकी थिइन् । २०७४काे स्थानीय तह निर्वाचनमा उषाकुमारी मण्डल उपाध्यक्षमा विजयी भएकी थिइन् ।

जम्मा ७ वडा रहेको यस पालिकामा एमाले र माओवादीले २/२, जसपा, नेकपा (एस) र जनमतले १/१  वडा अध्यक्षमा जित हासिल गरेका छन् ।

वडा नम्बर १ बाट ६८३ मत ल्याएर माओवादीका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर नेकपा (एस) का सुर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर नेकपा (एमाले) का जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भएका हुन् ।

सप्तरीमा हालसम्म घोषित १६ स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ५ नगर प्रमुखमा जित हासिल गरेको छ ।  यसैगरी जसपाले ३, एमाले, लोसपा र जनमत पार्टीले २÷२, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले १/१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

बाँकी जारी रहेको मतगणनामा डाक्नेश्वरी नगरपालिकामा एमालेले र रुपनी गाउँपालिकामा लोसपाले अग्रता कायम राखेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.