काठमाडौं । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी नेकपा एमालेको केन्द्रीय समिति बैठकमा शुक्रबार पार्टी विधानसम्बन्धी पेस भएको दस्तावेजमा सुझाव दिने क्रम जारी छ । प्रस्तुत छ, केही नेताले दिएका सुझावहरु:
दलबहादुर रावल
लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्वमाओवादी नेताको जिम्मेवारी खोस्न नहुनेलगायत सुझाव दिएका छन्। त्यसैगरी, उनले पार्टीमा ७० वर्षीय उमेर हदका विषयमा नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताए । सुझाव दिने क्रममा रावलले भने, ‘नेकपा एमालेको निरन्तरतासँगै जनयुद्धको निरन्तरता उल्लेख गर्दा राम्रो हुन्छ ।’
आनन्द पोखरेल
बागमतीका टोली नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताए । सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्न सुझाव दिए । पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजान सुझाव दिँदै उनले पार्टीलाई मजबुत बनाउन सर्कुलर मात्रै गरेर नहुने बताए ।
हिक्मत कार्की
प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा सातजना उपाध्यक्ष बनाउनुपर्ने बताउँदै २२५ भन्दाबढी सदस्य भएको केन्द्रीय कमिटी बनाउन सुझाव दिए ।