बीरगन्ज । राष्टिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ। आज राष्ट्रिय एकता अभियानले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको भन्दै विरगन्जमा मुख्यमन्त्री राउत विरुद्ध विरोध प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनकाक्रममा सभालाई सम्बोधन गर्दै अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाएका छन् ।
नेपाललाई इस्लामिकरणतर्फ धकेल्ने योजनाअनुरुप यो विद्येयक ल्याइएको उनको ठम्याइ छ। तत्काल यो विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्रीविरुद्ध आन्दोलनको आँधीबेहेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए ।
‘मुख्यमन्त्रीले इस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरसा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी खर्च गरेको र हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरिएको भन्दै अध्यक्ष यादवले टिप्पणी गरेको छन् ।
प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।