काठमडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ भने प्रतिनिधिसभा बैठक दिउँसो दुई बजे बस्ने कार्यतालिका छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने सचिवालयले बताएको छ ।
बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने सम्भावना रहे पनि कार्यसूचीमा राखिएको छैन ।