काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सोमबार बस्ने बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय गर्ने बताइएको छ । राजनीतिक अध्यादेशसम्बन्धी विधेयक निष्क्रिय नबनाइ सरकारमा नजाने बताउँदै आएका मधेशवादी दलका कारण पनि सरकारले सो अध्यादेश फिर्ता लिने तयारी गरेको हो ।
बैठक आज दिउँसो ४ बजे सिँहदरबारमा बैठक बस्न लागेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाइ महिनाभन्दा पनि बढी हुँदासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकार र गठबन्धनबारे आलोचना हुँदै आएको छ ।
सरकारले ल्याएको अध्यादेश कै कारण नेकपा एमालेबाट फुटेर एस पार्टी र जसपाबाट फुटेर लोसपा गठन भइसकेका छन् ।
सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ । ‘सम्भवतः आज राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन्छ होला’, बालुवाटार स्रोतले भन्यो ।
यसअघि आइतबार बसेको गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई तत्काल निष्क्रिय पार्न शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।
मन्त्री बन्न नपाएकाहरुले २० प्रतिशत पुर्याएर पार्टी फुटाउने डरमा नेकपा एस र जसपा रहेका छन् । सोही कारण दशैंअघि नै मन्त्रीपरिषद् विस्तार गर्ने योजनासहित अध्यादेश निष्क्रिय पार्न गठबन्धनले प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।