काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको बुद्ध एयरको जहाज दुई घण्टासम्म फन्को मारेर त्रिभुवन विमानस्थलमा नै अवतरण गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार प्राविधिक समस्याका कारण जहाज विराटनगर अवतरण नगरी काठमाडौं अवतण गरेको हो । उनले हाल सो जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङ गराइसकिएको बताए ।
उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधादर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मी तयारी अवस्थामा थिए ।