एमालेलाई टर्च बालेर खोज्ने सपना पूरा हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसको भनाइप्रति लक्षित गर्दै व्यङ्ग्य गरेका छन् ।

केहि दिनअघि नेकपा एकीकृत पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपश्चात् नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए । सोही भनाइलाई लक्षित गर्दै ओलीले सोमबार एमालेको केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्ने क्रममा एमालेलाई टर्च बालेर खोज्ने सपना पूरा नहुने बताएका हुन् । 

‘मच्छडले निदाएका बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो,’ओलीले भने । 

सोमबार पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको समेत दाबी गरे ।

यसैबीच, पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.