माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी मंगलबार ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । 

यसका अलावा बैठकमा विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ । 

तर पछिल्लो प्रस्तावमा स्थानीयस्तरमा हुने वडा भेला कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

यसअघि साउन अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकैदिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने, मंसिर १५ गते प्रदेश सम्मेलन सक्ने निर्णय गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.