काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । सम्बन्धित् खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले यी खेलाडी छनोट गरेको हो । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ ।
छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक ७५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ ।
ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, बिमा, स्वास्थ्य परीक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ ।
कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास पोख्दै भने- छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न मद्दत गर्नेछ ।’
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।