नेपाल बाह्य पर्यटक आगमनका लागि प्रख्यात छ । तर, पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थित पाइन्छ । पछिल्लो समय नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । जसले पर्यटन व्यवसायको प्रवद्र्धन गर्न सहयोग गरेको छ । पर्यटकीय दृष्टिले नेपालमा घुम्नलायक हिमाली क्षेत्र धेरै छन् । चाडबाँडसँगै नेपालीहरुको घुम्ने सिजन पनि शुरु भएको छ , विशेष गरि अरु समय भन्दा चाडबाँडको समय फुर्सदिलो समय हो । पारिवारी जमघटसँगै घुम्नको लागि यो समय उपयुक्त समय हो ।
घर वरपर तथा आफ्नो गाउँ–शहर आसपास पनि घुम्ने धेरै रमाईला ठाउँहरु छन् । त्यसमा पनि केही दिनको प्याकेज बनाएर हिमालको आधार शिविरहरु तथा हिमालय क्षेत्रहरु समेत घुम्न सकिन्छ । दशैं तिहारको छेकोमा घुम्नै पर्ने पाँच हिमाली क्षेत्रको वारेमा यहाँ प्रस्तुत गरिएको छ ।
सगरमाथा
सर्वाेच्च शिखर सगरमाथा विश्वका हिमालहरुमध्ये सर्वाधिक रोजाइमा पर्छ । सगरमाथा आरोहण, सुन्दर दृश्यावलोकन तथा पैदल यात्रा (टे«किङ)का लागि वर्षेनी आन्तरिक तथा बाह्य पर्यटक सगरमाथा पुग्ने गर्छन् । तिब्बती भाषामा चोमोलुङ्गमा नामबाट चिनिने सगरमाथालाई स्थानीय भाषामा चोमोलुङ भनिन्छ । समुद्री सतहदेखि ८८४८.८६ मिटरको उचाइमा अवस्थित यो हिमाल सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । सगरमाथाले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानाको रुपमा काम गरेको छ ।
सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेष्टको नाममा माउन्ट एभरेस्ट नामकरण गरिएको थियो । सन् १९५६ (वि.स.२०१२) मा इतिहासकार शिरोमणि बाबुराम आचार्यले यस स्थानको नाम सगरमाथाको नामकरण गरेका थिए । सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए ।
विश्व सम्पदा सूचीमामा समावेश सगरमाथा राष्ट्रिय निकुञ्जभित्र सगरमाथा, ल्होत्से, नुप्से, चोयु, ल्होत्से, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमाल छन् । पछिल्लो समय हिमाल हेर्नका लागि पर्यटक ५५५० मिटर कालापत्थरसम्म पुग्नेको संख्या बढ्दो छ । सगरमाथा, गोक्यो, खुम्बु क्षेत्र पदयात्राका लागि चोला सर्किट रुट प्रख्यात छ । लुक्लाबाट मोन्जो हुँदै नाम्चेबजार, एभरेष्टभ्यूको बाटोबाट चोला सर्किट यात्रा गर्न सकिन्छ ।
यस स्थानमा जानका लागि कम्तीमा दुईहप्ते प्याकेज बनाउनुपर्छ । भौगोलिक विकटताका कारण विगतमा खाना बस्नेलगायत समस्या थिए । तर, पछिल्लो समय सहजता हुने क्रम जारी छ । सगरमाथा हवाई तथा पैदल यात्राबाट पुग्न सकिन्छ । सगरमाथा पुग्न फाप्लु र लुक्लासम्म हवाईमाध्यमको प्रयोग गरिन्छ ।
त्यसैगरी, सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म गाडीमा गई त्यहाँबाट पैदल यात्रा गरेर नाम्चेबजार, कालापत्थरलगायत स्थानमा पुग्न सकिन्छ । काठमाडौंदेखि गाडीबाट यस स्थानमा जाँदा बीपी राजमार्ग र ओखलढुंगा हुँदै सोलु सदरमुकाम सल्लेरीसम्म पुग्नैपर्छ । यसका अलावा दोलखाको जिरी हुँदै सगरमाथा आधार शिविर पुग्न सकिन्छ । सोलु सदरमुकाम सल्लेरी यातायातको पहुँचमा नपुगन्जेल यो पदमार्ग निकै प्रचलित थियो ।
कञ्चनजंघा हिमाल
ताप्लेजुङ जिल्लामा अवस्थित कञ्चनजंघा हिमाल नेपालको सबैभन्दा पूर्वको हिमाल हो । या नेपालको दोस्रो र विश्वकै तेस्रो हिमाल हो । यसको उचाई आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाइ विश्वकै अग्लो हिमाल मानिन्थ्यो । बेलायती नागरिक जो ब्राउन र जर्ज ब्यान्डले सन् १९५५ मे २५ मा पहिलो पटक यस हिमालको आरोहण गरेका थिए ।
कात्तिक महिनाको मध्यदेखि मंसिर महिनाको मध्यसम्म मात्र पूर्ण रुपमा हेर्न सकिने यो हिमाल बाँकी ११ महिना बाँदलले ढाक्छ । यस क्षेत्रमा बाँदलले खेल्ने लुकारमारीले बनाउने रोमाञ्चक दृश्य अति नै लोभलाग्दो हुन्छन् । कञ्चनजंघा यात्रामा गएका पर्यटक यो हिमालको एक झल्को हेर्नका लागि दिनभरि नै कुरेर बस्ने गर्छन् ।
यो हिमालमा उत्तरी आधार शिविर र दक्षिणी आधार शिविर रहेको छ । उत्तरी आधार शिविर हिमाल हेर्नका लागि जाने गर्दछन् भने हिमाल चढ्न दक्षिणी आधार शिविर जाने गर्दछन् । ताप्लेजुङको सदरमुका फुुङलिुङ हुँदै यस स्थानमा जान सकिन्छ । पदमार्गमा खुलेका होटलले पर्यटकको यात्रालाई सहज बनाएको छ ।
ल्होत्से हिमाल
ल्होत्से हिमाल विश्वकै चौथो अग्लो हिमाल हो । यो हिमालले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचमा रहेर सीमाको काम गरेको छ । आठ हजार ५१६ मिटरको उचाइमा रहेको यो हिमाल पनि सोलुखुम्बुमै पर्छ । ल्होत्से हिमाल पुग्नका लागि सगरमाथा आधार शिविरको बाटो हुँदै जान सकिन्छ । यो हिमाल पुग्न कम्तीमा दुई हप्ताको प्याकेज बनाउन सकिन्छ । तर, हिमाल नै आरोहण गर्ने हो भने कम्तीमा दुई महिनाको समय लाग्छ ।
मकालु हिमाल
मकालु हिमाल संखुवासभामा पर्छ । यो हिमालले पनि नेपालको उत्तरी सीमा र तिब्बतको दक्षिणी सीमाको काम गरेको छ । कालो हिमालको उपनामले समेत चिनिने यसको उचाइ आठ हजार ४६२ मिटर छ । मकालु विश्वको पाँचौँ अग्लो हिमाल हो भने नेपालको चौथो ।
मकालु वेसक्याम्पको सौन्दर्य अवलोकनसँगै मकालु आरोहणका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । यो हिमाल मकालु वरुण राष्ट्रिय निकुञ्जभित्र पर्छ । तुम्लिङटारदेखि पदयात्रा गरेर मकालु बेसक्याम्पसम्म पुग्न सकिन्छ । यसका अलावा नुमासम्म गाडीमा गएर त्यहाँबाट पैदल यात्रा गरेर पनि मकालु हिमाल पुग्न सकिन्छ ।
लाङटाङ हिमाल
लाङटाङ हिमाल राजधानी काठमाडौंदेखि पश्चिममा अवस्थित छ । रसुवा जिल्लामा पर्ने यो हिमाल लाङटाङ पदमार्गका नामले पनि चिनिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो हिमाल तिब्बतसँग जोडिएको छ । लाङटाङ वरिपरि लाङटाङ लिरुङ, गाङछोम्बा, गुल्दुम, झाङ्बु, छेर्पा छे, किम्सुङ, याङ्जी तेन्जी, युब्रा,मरिमटो, लाङटाङ गिरी, सिसापाङ्ग,पेम्दङकर्पु, पाङ्री पिकजस्ता दर्जनभन्दा बढी हिमाल छन् ।
लाङटाङ हिमाल सात हजार २३४ मिटर छ । हिमाल हिम पहिरोको जोखिम उच्च रहेकाले लाङटाङको आरोहण कमै मात्रामा हुने गरेको छ । तसर्थ यो हिमाल आरोहणभन्दा पदयात्राका लागि प्रख्यात छ । काठमाडौं धादिङ, नुवाकोट हुँदै करिब ६ घण्टाको यात्रामा स्याफ्रु पुगिन्छ । स्याफ्रुबाट पैदल हिड्दै लाङटाङको यात्रा गर्न सकिन्छ । एक हप्ताको समयमा लाङटाङको यात्रा पूरा गर्न सकिन्छ ।