काठमाडौं ।एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबको पुरुष टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै समूह ‘बी’बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो ।यता, पराजित गण्डकी प्रदेशसमेत समूह उपविजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ । गण्डकीविरुद्ध पहिलो सेट नेपाल पुलिस क्लबले २५–१४ र दोस्रो सेट समेत २५–१४ आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–१८ ले पारेको थियो ।
समूह बी मा नेपाल पुलिसले शत प्रतिशत जित निकाल्दा तीन खेलबाट ९ अंक जोड्यो । गण्डकीको तीन खेलबाट ५ अंक रह्यो । यस समूहबाट मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब समूह चरणबाटै बाहिरिए । यता, समूह सी बाट आर्मी क्लब विजेता रहँदा नयाँ बजार उपविजेता रह्यो । समूह डी बाट एपीएफ विजेता रहँदा ढोरपाटन उपविजेता रह्यो ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जारी छैटौं संस्करणको एनभिए च्याम्पियनसिप प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोली सहभागी छन् ।च्याम्पियनसिपबाट चैतमा हुने एनभिए लिगमा पुरुष तर्फ ७ र महिलातर्फ पाँच टोली छनोट हुनेछन् ।