गुल्मी । करेन्ट लागेर ज्यान गुमाएका मदाने गाउँपालिका – १ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतको परिवारलाई आर्थिक सहयोग र रोजगारीको व्यवस्था गरिएको छ ।
१३ भदौमा करेन्ट लागेर ज्यान गुमाएका विक्रमको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिन र उपयुक्त जागिरको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण सहमत भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
मृतकका परिवारसँग सहमति भएपछि गुल्मी अस्पतालमा शवको पोस्टमार्टम गरिएको छ । छाताको टुप्पोले तार छोएपछि करेन्ट लागेर विक्रमको मृत्यु भएको थियो ।
यसअघि गत १८ मंसिरमा मुसिकोट नगरपालिका ७ का २६ वर्षीय धिरज कार्की, गत १३ वैशाखमा इस्मा गाउँपालिका – ५ का २२ वर्षका प्रकाश कुमाल र ११ असार ०७८ मा रुरु क्षेत्र गाउँपालिका - १ का ३८ वर्षीय सुन्दर श्रेष्ठको पनि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।