काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्रीनिवासमा बसेको सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलमध्ये नेकपा एमालेबाहेक अरु सबै दल उपस्थित भएको जानकारी दिँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले संवादबाट भाग्न खोजेको आरोप लगाए ।
उनले भने, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहले संसद् अवरोध गरिरहनुभएको छ,’ बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त योभन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’
बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि नेकपा एमालेलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।