कर्णाली । राउटेको जनगणना अन्तिम समयमा गर्ने भएको छ । कर्णालीका स्थानिय जनगणना कार्यालयका अनुसार यो समुदायको गणना छुट्न वा दोहोरिन नदिन अन्तिम समयमा गर्ने जनाएको छ ।
फिरन्ते जिवन बिताउने राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा नं.१ को घाटगाउँमा रहेका छन् । राउटेहरु छिटो छिटो बसाइ सर्ने भएकोले छुट्ने वा दोहोरिने सम्भावना रहन्छ । यसकारण अन्तिममा मात्रै उनीहरुको गणना गर्ने गरी स्थानिय जनगणना कार्यालयहरुसँग समन्वयन भइरहेको सुर्खेत प्रदेश जनगणना कार्यालयले जनाएको छ ।
बाह्रौँँ राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिनमात्र बाँकी रहँदा सुपरीवेक्षकहरु राउटे बस्ती पुगेका छैनन् । वनगाड कुपिन्डे नगरपालिका–१ की सुपरीवेक्षक राजकुमारी खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरण कार्य अन्तिममा गर्ने तयारी भइरहेको बताए । ‘राउटे समुदायसहित पाँच वटा क्लष्टर बनाएर घरधुरी तथा घरपरिवार सूचीकरण गरिरहेको छु’, उनले भने, ‘अन्य बस्तीको सूचीकरण अब अन्तिम चरणमा पुगेको छ, त्यसलगत्तै राउटे बस्तीमा पुग्नेछु ।’
सुपरीवेक्षक खत्रीले राउटे समुदायको घर परिवार तथा घरधुरी सूचीकरणका लागि सो समुदायसँग नजिकका व्यक्तिबाट सहयोग लिन पर्ने भएकाले त्यसका लागि दैलेखको गुराँस गाउँपालिकाले दुई सहजकर्ता परिचालन गरेको छ । राउटेहरु आफूले विश्वास गरेको एवं परिचित व्यक्तिसँग मात्र आपसमा कुराकानी गर्ने गर्दछन् । यो समुदाय अझै आफ्नो वास्तविक विवरण बताउन तयार छैनन्
राउटेहरु ‘आफ्नो संख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो । विसं २०५८ र २०६८ को जनगणनामा राउटेको संख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ । यी गणनामा राउटेको संख्या ५०० भन्दा बढी भएको उल्लेख थियो ।
जिल्ला तथ्याङ्क कार्यालयका सहायक जनगणना अधिकारी कुमारी सीता तिमिल्सेनाले यसपटकको गणनामा राउटे समुदायको वास्तविक विवरण सङ्कलन हुने बताए । ‘फिरन्ते राउटे, पुख्र्यौली थातथलोदेखि अलग बस्दै आएका बादी, गन्धर्वलगायत जातिको पनि यकिन विवरण सङ्कलन गरिँदैछ’, उनले भने, ‘कसैको छुट्ने र कसैको दोहोरिने समस्या हुन नदिन सचेत छौं ।’ ‘मेरो गणना–मेरो सहभागिता’ भन्ने नाराका साथ यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।