काठमाडौं । माल्दिभ्समा आजदेखि साफ च्याम्पियनसिप सुरू हुँदैछ । साफ दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपाली समय अनुसार आज दिउँसो ४ः४५ बजे श्रीलंका र बंगलादेश खेल्दैछन् । नेपाल र माल्दिभ्सबीचको खेल बेलुका पौने १० मा छ ।
नेपालले यो पटक फाइनल खेल खेल्ने लक्ष्य लिएको छ । त्यसको लागि नेपाली टिमले कतारमा बन्द प्रशिक्षण सम्पन्न गरेको छ । नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । र, यो संस्करणमा नेपालको फाइनल पुग्ने लक्ष्य राखेको हो ।
नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले माल्दिभ्सविरूद्धको खेल कठिन हुने बताएका छन् । ‘उनीहरूको टोली राम्रो छ र साविक विजतासमेत हुन्,’ उनले भने । श्रेष्ठले माल्दिभ्स र भारतलाई यस पटक जित्ने उद्देश्य रहेको बताए । साफ भारतले सात पटक र माल्दिभ्सले दुई पटक जितेको छ ।
साफ खेल्ने नेपाली टोलीः
किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, आयुष घलान, रोहित चन्द, सुरज जेउ ठकरी, नितिन थापा, विशाल राई, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, मनिस डाँगी, कमल थापा, अन्जन विष्ट, सुनिल बल, आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नवयुग श्रेष्ठ ।