आज एपीएफ र न्यु डायमण्ड भिड्ने

काठमाडौं । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड फाइनल प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा न्यु डायमण्डले ३–२ सेटमा खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेटमा सुरुवातबाटै पुलिसले अग्रता बनायो । उसले कुनै पनि समय न्यु डायमण्डलाई खुलेर खेल्न दिएन र पहिलो सेट २५(१८ ले सहज जित हात पार्‍यो ।

दोस्रो सेट न्यु डायमण्डले २५–१७ ले जित्दै सेट १–१ को स्थितिमा ल्यायो । तेस्रो सेट पुनः पुलिसले आफ्नो नियन्त्रणमा लियो । पुलिसले २–१ को अग्रता बनाउने क्रममा २५–२१ ले तेस्रो सेट जित्यो ।

चौथो सेट पुनः न्यु डायमण्डले २५–१७ ले जित्दै २–२ को बराबरी गर्‍यो ।

अन्तिम सेटमा न्यु डायमण्डले समालिएको खेल प्रदर्शन गर्दै सेट १५–१० ले जित्यो ।

अब उपाधिका लागि न्यु डायमण्डले एपीएफ क्लबको सामना गर्नेछ । आज बिहान भएको पहिलो विभागीय प्रतिस्पर्धामा आर्मी क्लबलाई पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ ।

यस्तै आज नै पुरुष तर्फको सेमिफाइनल खेल रहेको छ । पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.