ओली तानाशाह भएको पौडेलको आरोप

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । शनिबार गृहजिल्लामा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता पौडेलले एमाले अध्यक्ष ओलीमाथि सो आरोप लगाएका हुन्। 

'नेकपा (एमाले) को विधान अधिवेशन चलिरहेको छ । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका तस्बिर कम छन्,' पौडेलले भने, 'ओलीका भने पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् । तानाशाहले हो आत्मप्रशंसा चाहने । ओली आत्मप्रशंसामा रमाइरहेका छ्न् ।'

लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलको भनाइ छ । सो क्रममा उनले भने  'रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,' उनले भने, 'मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ ।' नेता पौडेलले जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए । 'चुनावले पार्टीमा हलचल ल्याएको छ । रक्तसंचार ल्याएको छ । चुनावले नेपाली कांग्रेसलाई अझ बलियो बनाएको छ,' पौडेलले भने , 'देशभर पार्टी चलायमान भएको छ । उर्जा उत्साहको लहर छाइरहेको छ ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.