काठमाडौं । मधेश आन्दोलनको एउटा हिस्सेदार नाम हो राजकुमार लेखी । मधेशको मुद्धालाई राष्ट्रिय मुद्धा बनाउन सफल भएका लेखी त्यसैको आडमा नेपाल आदीवासी जनजाति महासंघका अध्यक्ष समेत बने ।
त्यसपछि महासंघबाट बाहिरिएसँगै उनले मधेशी र जनजातिलाई साथमा लिएर पार्टी बनाउने निर्णयका साथ नेकपा एमाले मधेश–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षबाट राजिनामा दिएर राष्ट्रिय नागरिक पार्टी स्थापना गरे ।
नागरिक पार्टीलाई उनले स्थापित गर्न सकेन । त्यसपछि उनी जनता समाजवादी पार्टीमा लागे । उनी उक्त पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । यस्तै उनी थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री समेत हुन् ।
देउवा सरकारले राजनीतिक दल फुटाउने नियतले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको प्रयोग गर्दै जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भयो । लोसपा दर्तासँगै लेखी लोसपामा लागे ।
एक महिना बित्न नपाउँदै लेखीले लोसपाबाट राजिनामा दिए । राजिनामा दिएर नयाँ यात्रामा लाग्ने बताएका लेखी पुनः एमालेमै लाग्ने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ का पूर्व अध्यक्ष पासाङ शेपा एमालेमा फर्केपछि उनकै समन्वयमा अहिले लेखी एमाले प्रवेश गर्न लागेका हुन् ।
नेकपा एमलेको प्रथम महाधिवेशनको आज अन्तिम दिन हो । गोदावरीमा जारी महाधिवेशनकै समारोहमा लेखीले एमाले प्रवेश गर्ने कार्यक्रम छ । विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गर्न लागेको लेखीले बताए ।
पहिले पनि एमालेमै थिए । बीचमा मधेशका आन्दोलन र मुद्धालाई समाउने गरि अरु पार्टीमा लागेँ । विचार मिलेका साथीहरु यहि छन् । त्यसै कारण एमाले प्रवेश गर्न लागेको हुँ, लेखीले क्विक नेपालसँग भने । लेखीसँगै उनका कार्यकर्ताहरुपनि एमाले प्रवेश गर्दैछन् । लेखी एमाले निकट अखिलका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।