एमाले स्थायी कमिटीको संख्या बढ्यो, केन्द्रिय सदस्यको प्रावधान संशोधन

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको संख्या बढ्ने भएको छ । एमालेको विधान मस्यौदामा छुट्टाछुट्टै समुहमा भएको छलफल पछि आएको निश्कर्षको आधारमा स्थायी कमिटी सदस्य संख्या बढाउने निर्णय भएको संगठन विभाग प्रमुख विष्णु पौडेलले बताएका छन् ।

यस अघि पार्टीमा ४१ सदस्यीय स्थायी कमिटीको व्यवस्था थियो । त्यो संख्या थप गरेर ४५ पुराइएको छ । यस्तै एमालेले पार्टीको केन्द्रिय सदस्य बन्नका लागि केही प्रावधानहरु संशोधन गरेको छ ।

यस अघि १५ वर्ष संगठित सदस्य भएको हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने पनि एमालेले भनिएको छ ।

केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुने पनि एमालेले विधानमा संशोधन गरेको छ ।

महिला, दलित,सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्य हुन सक्ने प्रावधान पनि थपिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.