एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी, सबै कमिटीको आधार संख्या ५०

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा समुहगत छलफलछ पछि वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय गरेको छ । यसअघि ३ उपाध्यक्ष व्यवस्था थियो । समूहगत छलफल पछि गरिएको रिपोर्टिङ अनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय गरेको हो ।

यो सँगै नेकपा एमालेको पदाधिकारी १५ जनाको हुने भएको छ । यस अघि १३ जना रहने व्यवस्था थियो । बरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप भएपछि संख्या १५ पुगेको हो ।

यस्तै नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ । ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिंग भएको भन्दै विधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको एमालेले जनाएको छ ।

एमालेको सबै कमिटीको आधार संख्या ५० हुने नेता विष्णु पौडेले जानकारी दिए । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्रबराबर ५ जनाको दरले थपिने पौडेलले बताए ।

उदाहरणका लागि कर्णाली प्रदेशमा आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन् ।

पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । केन्द्रीय कमिटी २२५ सदस्यी रहनेछ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्था विधानमा समावेश छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.