ललितपुर । विधान सभामा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल र पुष्प कमल दाहाल प्रचण्ड नेकपा एमालेको दुश्मन भएको बताएका छन् । सभालाई आफ्नो धारण राख्ने क्रममा नेता ओलीले नेपाल र प्रचण्डलाई दुश्मनको संज्ञा दिएका हुन् ।
कम्युनिष्टको सरकार फालेर कांग्रेसलाई सरकारको साँचो बुझाउनेहरु नेकपा एमालेको दुश्मनहरु हुन्, ओलीले भनेका छन् । यो देशमा मुलतः कम्युनिष्ट र कांग्रेसको प्रतिस्पर्धा छ । अनि कम्युनिष्टको सरकार हटाएर कांग्रेसको सरकार खोज्नेहरुलाई अब हामीले दुश्मन भन्ने की नभन्ने, ओलीले भने ।
नेता ओलीले नेपाल र प्रचण्डलाई षडयन्त्रस्वरूप पार्टी विभाजन गरेको आरोप लगाएका छन् । चैतमा महाधिवेशन गर्ने तयारी थियो । महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भन्ने थियो । प्रचण्ड–माधव समूहले कात्तिकमै मलाई नेतृत्व र सरकारबाट हटाउने षडयन्त्र रचे, ओलीले भने ।
अध्यक्ष ओलीले आफूहरु व्यक्तपूजक नभएको बताएका छन् । साझा र संगठानिक पार्टी भएको भन्दै एमाले व्यक्तिपूजक पार्टी नभएको ओलीले बताए ।
हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे, कस्तो अचम्म एमालेको केही देख्नै नसक्ने, ओलीले भने ।’
अध्यक्ष ओलीले नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान पनि गरेका छन् । उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान नेता कार्यकर्तालाई आह्वान गरेका हुन् ।