केरा बेचेर डेरा

कति मान्छे आउँछन् जान्छन्, कति बस्छन्, बस्दैनन् । कतिले गुडाए होलान् गाडी, मोटरसाइकल, ट्याम्पो र ठेला । अनि कतिले गुडाए जीवन । तर, हेक्का राख्दैन यो सहर ।

शहर छिरेका सबै आ–आफ्नो व्यस्ततामा रुमलिएका छन् । यही व्यस्त जीवनमा दशैंको आगमनले थप उथलपुथल बनाएको छ । गच्छेअनुसार धेरथोक जोहो गर्नुछ। धनी होस् या गरीब चाड सबैलाई लाग्छ ।

यस्तै, परिदृश्यमा रुमलिरहेको थियो मैतीदेवीचोक । अनि व्यस्त थिए चोकमा बस्नेहरु । मध्यदिन, टन्टलापुर घामले बढाएको गर्मीलाई चिसो हावाको स्पन्दनले शितलता प्रदान गरिरहेको थियो । 

त्यत्तिकैमा एउटा आवाज गुन्जियो । जुन आवाज काठमाडौं नगरप्रहरीको सिठ्ठीको थियो । आवाजसँगै सिंगो चोक अतालियो । हस्याङ फस्याङ गर्दै केही थान मानिस भागदौडमा सहभागी भए । चिसो हावामा सुसेल्दै गरेको माहोल एक्कासि कोलाहलमा रुपान्तरित भयो । लाइन लागेका ठेला यत्रतत्र छरिए। भागदौड गर्नेहरु गल्ली र कुनाकाप्चा खोजिरहेका थिए । 

त्यही भीडमा देखिए २३ वर्षीय दिनेश । कक्षा १२ सकेर जागिरको खोजीमा दौडका क्रमका क्रममा घरको अर्थिक जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यताका कारण ठेला समाउन पुगेका थिए ।

सुरुमा परदेश गएर कमाउने सोचका साथ केही वर्षअघि सिन्धुपाल्चोकबाट उनी काठमाडौं झरेका थिए । तर, विदेश जान लग्ने लागत र आम्दानी देखेर उनी विदेश जान चाहेनन् ।

यो निर्णयसँगै उनी के गर्ने भनेर भौतरिँदै थिए । यतिकैमा उनलाई ठेलामा सामान बेच्ने योजना फुर्‍यो । थोरै लगानीमा मुनाफा लिन सकिने ठेला व्यापार नै उनका लागि उपयुक्त भयो । उनले २० हजारको लगानीमा सुरु गरेको ठेला व्यापारले सोचेजस्तै मुनाफा दिलायो । 

ठेला व्यापार सुरु गरेदेखि नाफा हातमा लिएको उनी बताउँछन् । ‘आफूले दुख गरेअनुरुपको कमाइ छ,’ उनी भन्छन्, ‘म यो पेशाप्रति सन्तुष्ट छु । तर, बेलाबेलामा महानगरले दिएको दुख सम्झिँदा दुख लाग्छ ।’ एकचोटि महानगरले ठेला खोसेर लग्दा सारै नमिठो अनुभूति सम्झन्छन् उनी ।

ठेला व्यापारमा उनले धरै अनुभव बटुलिसकेका छन् । बाहिरबाट आयातित वस्तुभन्दा स्वदेशमै उत्पादित वस्तु बेच्दा राम्रो कमाइ हुने उनको भनाइ छ । तर, शहरका केही धनाढ्यले ठेलामा बेच्ने सामान नराम्रो भन्दा नमिठो लाग्छ उनलाई । 

विदेश पसेर दुई चार सय कमाउनु र नेपालमै ठेलामा सामान बेच्नुबराबर हुने दिनेशको भनाइ छ । ‘सबै कामलाई समान नजरमा हेर्ने र लाज नमानी गर्ने हो भने देश छोडेर जानु पर्दैन,’ उनी भन्छन्, ‘ठेला व्यापारबाट मासिक ४० देखि ५० हजारसम्म कमाइ हुन्छ ।’ दैनिक २५ सयसम्मको मुनाफाले उनको पारिवारिक आर्थिक अवस्थामा धेरै सहयोग पुगेको छ । 

घाम, पानी र काठमाडौंको चिसोमा भने काम गर्न गाह्रो हुने बताउँदै उनी भन्छन्, ‘काम गर्न दुख छ, तर दुख गरेअनुसार कमाइ पनि छ ।’ आफैँ गरी खान्छु भन्नेका लागि सरकारले कुनै सहयोग नभएको तितो यथार्थ सुनाउँदै उनी भन्छन्, ‘नगरपालिकाको नजरबाट लुकेर ठेला गुडाउनुपर्ने बाध्यता छ । समस्या धेरै छ, समस्यासँग जुध्न सकेमा मुनाफा पनि राम्रो हुन्छ । यदि नगरपालिकाले प्रत्येक चोकमा एउटा ठाउँ तोक्ने हो भने ठेला व्यापार गरेर खानेहरुका लागि सहज हुन्छ ।’ 

प्रत्येक विहान ३ बजे बल्खु पुगेर सामान ल्याउने र बेच्ने दिनेशको दैनिकी हो । सामान ल्याउन आफ्नै साधन नभइदिँदा धेरै समस्या भोग्नुपर्ने उनी बताउँछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.