काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले नेपाल-चीनका महत्वपूर्ण तस्वीर सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।
'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ', उनले लेखेकी छन् ।
सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेपाल-चीनबीच सीमा विवाद भएको भनी समिति बनाएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले चीनसँग विवाद भएको भन्दै अध्ययन समिति बनाउन माग गरेको थियो ।
सीमाविद बुद्धिनारायण श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने अहिले चीनसँग विवाद एक ठाउँमा मात्रै भएको बताउँछन् । उनका अनुसार यसअघि नेपाल र चीनबीच दुई ठाउँमा सीमा विवाद थियो । यसअघि सगरमाथाको उचाइबारे दुवै देशका प्रतिनिधिकी बीचमा सहमति भएर टुंगिएसँगै एक ठाउँको सीमा विवाद टुंगिएको हो ।