काठमडौं । सत्तारुढ नेपाली कांग्रेसको एक टोली भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वको टोली बिहीबार भारत जान लागेको हो । सो टोलीमा नेता उदय शमशेर राणा र अजय चौरासिया छन् । भ्रमण भाजपाको निमन्त्रणामा हुन लागेको भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ ।
पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले बतायो ।
भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।
गत अगष्ट महिनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।