मैले धेरै त्याग गरेँ, पौडेल र सशांकले मलाई सहयोग गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व गर्ने पालो अब काठमाडौंको रहेको बताएका छन् । 

सभापतिका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका सिंहले बिहीबार नागार्जुन नगरपालिकामा नवनिर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना ज्ञापनका क्रममा यतिका वर्षसम्म कांग्रेसको नेतृत्व काठमाडौंबाहिरका नेताले गरेको बताउँदै यस्तो बताएका हुन् । 

‘यतिका वर्ष काठमाडौंबाहिरले नेतृत्व गरेको हो । अब पालो काठमाडौंको हो । कि हामी सधैँ अरूको झोलामात्रै बोकेर हिँड्नुपर्ने हो,’ सिंहले प्रश्न गर्दै भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?’

१३ औँ महाधिवेशनमा आफूले रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको बताउँदै यसपालि आफूले सहयोगको अपेक्षा गरेको बताए । ‘सधैँ मैले मात्रै त्याग गर्ने भनेर हुँदैन । म पहिलो निर्वाचित महामन्त्री हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म त्यस बेला शशांक कोइरालाको प्रस्तावक बसेँ,’ नेता सिंहले भने, ‘यसपटक सभापतिमा म उठ्ने हो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.