हराएका गङ्गाबहादुर ५२ बर्ष पछि परिवारको सम्पर्कमा

 वेनि । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुष पारिवारिक सम्पर्कमा आएका छन । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर (नामले चिनिने )को मङ्गलबारबाट आफन्तसँग भेट भएको हो

उनको जन्म विसं २००३ मा भएको थियो । गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर परिवारले सुचना पाएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा रहेनन। हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उन्ले बागलुङ, बेनी, तातोपानीको नाम लिएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजीकार्य सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी कार्य जारी राखेको थियो। खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनको माध्यमबाट कुरा भएको थियो । परिवारले खोजीकार्य जारीगरेर उनको पुरा ठेगाना पत्ता लागेको थियो ।


ऊ कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका थिए । गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि पछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलबार भेट भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली बाट आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका छन ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । “पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई अहिले आफन्तको जिम्मा लगाइएको छ ।,” रेडक्रस म्याग्दीका सभापति हमालले जानकारी दिए ।


साउन महिनाको अन्तिम हप्ता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको हो । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आएको छ । यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको पनि रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताएका हुन ।

घरबाट हराएपछि भौँतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताएका हुन।

स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरिएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.