मानब हड्डी र खप्परको तस्करी बढ्दै

विराटनग । भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डीको तस्करी भइरहेको पाइएको छ। अहिले सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ।

मोरङकासशस्त्र प्रहरी बल प्रमुख एसपी तीर्थ पौडेलका अनुसार, विराटनगर महानगरपालिका–१५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस बरामद गरिएको हो । भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेनलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गरिएको पनि बताए।

सशस्त्रले चेकजाँचको कार्य सुरु गरेपछि भेनका चालक निस्किएर भागेका थिए। सशस्त्रले बरामद गरेको वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरिएको छ । यस विषयमा जाँचबुझ गर्न वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारी र प्रहरीको संयुक्त टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु वन्यजन्तुको अंग नभएको निस्कर्ष निकालिएको हो।

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले बरामद भएको वस्तु वन्यजन्तुको अंगसँग नमिल्ने बताए। ‘हेराइका आधारमा बरामद भएको वस्तु वन्यजन्तुको अंग नभएको बताइएको छ । मानव शरीरमा भएका अंगसँग मिल्दोजुल्दो रहेको ,’ उनले बताए, ‘ यसको ठोस प्रमाण अनुन्धानपछि मात्रै पत्ता लाग्ने छ ।। यसमा पनि वस्तु मान्छेको खप्पर र खुट्टा एवं हातको नली हड्डीजस्तो देखिएको छ ।’

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीका अनुसार, थप अनुसन्धान गरेर मात्र यथार्थ पत्ता लगाउन बरामद गरिएको वस्तु नेपाल प्रहरीको जिम्मा लगाइएको छ । नेपाल प्रहरीको अनुसन्धानपछि उक्त वस्तुको यकिन हुने बताउँदै भने ,प्रारम्भिक अनुसन्धानबाट भने मानव खप्पर र मान्छेकै खुट्टा एवं हातको नली हड्डी भएको निस्कर्ष निकालिएको जानकारी दिए।

‘सुरुमा वन्यजन्तुका अंग हो कि भन्ने अनुमान गरियो थियो। विज्ञहरुले वन्यजन्तुको हैन भनेपछि मानव अंग नै भएको निस्कर्ष निकालिएको छ, ।’ गिरीले भने, ‘परीक्षणपछि पहिचान गर्न त्यसको प्रक्रिया नेपाल प्रहरीले अघि बढाइसकेको छ।’ यस घटनाले भारतबाट नेपाल र नेपालबाट भारततिर विभिन्न वस्तुको तस्करी भइरहेको पुष्टि हुने उनले बताएका छन । अवैध धन्दा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालित रहेको डीआईजी गिरीले जानकारी दिएका छन।

उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ। ‘सीमा क्षेत्रबाट यस्ता वस्तु बरामद हुनु निक्कै गम्भीर विषय हो ।‘ डीआईजी गिरी का अनुसार ,भएकाले निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाई गर्न थालिएको हो ।’

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले उक्त वस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको जानकारी दिए। ल्याब परीक्षणको रिपोर्ट प्राप्त भएपछि उक्त वस्तुका बारेमा पुष्टि हुने. उनको मत रहेको छ। उनका अनुसार मानव खप्परजस्तो देखिने वस्तुलाई भने काटेर बटुका एवं कचौराको जस्तो आकार दिइसकेकोे छ । यसो गर्नुमा अपराध लुकाउन गरिएको हो ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। तर प्रहरीले सोधपुछ गर्दा उनिहरुले उक्त बस्तुवारे जानकारी दिएका छैनन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारतबाट ल्याएर काठमाडौं लैजान खोजिएको पाइएको र चीनतर्फ लैजान खोजिएको पनि हुनसक्ने प्रहरी अधिकारी बताउँछन्। विस्तृत अनुसन्धानपछि थप विषय प्रष्ट हुने प्रहरीको भनाइ रहेको छ । एसपी जीसीले केमा प्रयोग गर्नलाई मावन खप्पर र हड्डीको तस्करी गरिन्छ भन्ने यकिन नभएको बताए। उनका अनुसार , बरामद गरिएको वस्तु कति पुरानो होभन्ने पनि खुल्न बाँकी नै रहेको छ । तर विगतका केही घटनाबाट भने मानव खप्पर र हड्डीको तस्करी हुने गरेको पुष्टि भइसकेको छ। मान्छे मरेपछि जातीय परम्परा अनुसार दाहसंस्कार गरिन्छ। कतिपय जातजातिले शवलाई आगोमा जलाएर नष्ट गर्छन् भने कतिपयको जमिनमा गाडेर अन्त्येष्टि गर्ने परम्परा छ।

शव गाडेको ठाउँबाट भने खोतलेर मानव अंगहरु निकाल्ने गरिएको नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवालको भनाइ छ। ‘मान्छेको हड्डी तस्करी भइरहेको हुन्छ। तर केका लागि हो भन्ने अहिलेसम्म यकिन हुन सकिरहेको छैन,’ उनले भने, ‘पैसा कमाउने ध्याउन्नमा रहेका तस्करहरुले चिहान खनेर मानव खप्परलगायतका अंग संकलन गर्छन्। कतिपय घटनाले काठमाडौंमा मानव खप्पर र हाडखोर किनबेच भइरहको देखाएको थियो।’

मानव खप्पर र नली हड्डीको प्रयोगको कुनै वैज्ञानिक आधार पेला परेका छैनन । तर अपराध मानेर यसको उत्खनन्, ओसारपसार र कारोबारमा प्रतिबन्ध लगाइएको उनले बताए। कटुवालका अनुसार तान्त्रिक विद्या, धन प्राप्ति लगायतका लागि भनेर भ्रम छरिएका कारण तस्करी हुने गरेको पाइएको छ ।

‘घरमा मानव खप्पर र हड्डी राख्दा धन प्राप्त हुने तथा यसको प्रयोग गर्दा तान्त्रिक विद्या प्राप्त हुने भ्रम एवं अन्धविश्वास रहेको छ, ,।’ उनले भने, ‘त्यही भएकाले मानिसहरुले अवैध उत्खनन्, ओसारपसार र किनबेच गरिरहेको पाइन्छ।’ काटेर बटुकोजस्तो बनाइएको खप्परलाई कतिपयले पेय पदार्थ पिउन, तान्त्रिक साधनासिद्धि एवं घरमा सजावटका लागि भन्दै प्रयोग गर्ने गरेको छन । पूर्वडीएसपी कटुवाल मानिसको खप्पर र हड्डी बरामद हुनु निक्कै संवेदनशील विषय भएको बताउँछन्। यसको तस्करीमा संलग्नलाई कारबाही गर्न कानुनकै अभाव रहेको उनको भनाइ रहेकमे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.