रौतहट । कोरोनाको संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल भारत सीमा नाका बुधबारदेखि सञ्चालनमा आएको छ ।
रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका हुन ।
नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ प्रमुख जिल्ला अधिकारी यादवले भने ।
सवारी साधनको आवतजावत खुला भएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ ।
कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द भएको थियो । पछि नाकाबाट पैदलयात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाउँदै आाएको थियो ।
नाका सञ्चालनमा आएपछि भारतीय सवारी साधनहरु नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने छन । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि खुशी भएको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले जानकारी दिए ।
चाडबाडका बेला सीमा मा आवतजावत सहज भएपछि किनमेलका लागि दुवै देशको सीमावर्ती बजारमा भिड बढ्ने अध्यक्ष जयसवालको भनाइ छ ।