काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग राखेको छ । अध्यक्ष सुदेश पराजुलीले आज विचार राख्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाएका छन् ।
विगतमा खिचिएको चुच्चे नक्सामा समेटिएको दार्चुलाको गाउँ कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत अनेरास्ववियू को माग रहेको छ ।
लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपनि जनगणना गर्न सुपरीवेक्षक नखटाइएकोमा आपति जनाउँदै यस्तो माग राखेका हुन ।