पोखरा । धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनीहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको महत्पूर्ण भूमिका जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहसले गर्दा अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको शिर ठाडो गराउन सफल भएको उनको धारणा रहेको छ ।
सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भएर पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताएका हुन । कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ ।
समिट सेभेन ट्रेकिङ कम्पनीबाट दुवै जना असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल भएका थिए । उनि फोटो पत्रकारसमेत रहेकी थिइन । पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमाल र धवलागिरि हिमाल पनि आरोहण गर्न सफल भएकी थिइन ।
पश्चिमाञ्चलको टान सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिए ।