नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीश पाण्डे र खरेलको इजलासमा

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । 

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको छैन । 

यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तर तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वसचिव पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामा छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.