विजयादशमीसँगै जनकपुरधाममा बढ्यो चहलपहल

जनकपुरधाम । विजयादशमीको सुरुवातसँगै धार्मिक पर्यटकीय शहर जनकपुरधामका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको चहलपहल बढेको छ ।

मिथिला सांस्कृतिक केन्द्रको उद्गम स्थलको रूपमा मानिएको जनकपुरधाममा रहेका मठमिन्दर तथा विभिन्न देवी–देवताका शक्तिपीठहरू अहिले आकर्षक ढंगले सजाइएका छन् । यहाँका मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौद्धीमाई मन्दिर, दुर्गा मन्दिरलगायतलाई सरसज्जा गरी अकर्षक बनाइएको छ ।

त्यसैगरी प्रत्येक वर्ष विजयादशमीकै अवसरमा स्थानीय रामानन्द चोक, भ्रमरपुरा चोक, विद्यापति चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर विशेष प्रकारले पूजाआजा गर्ने र मेला लगाउने गरिन्छ । भव्य टेन्ट पण्डालले मन्दिरकै आकार दिई दशैँभरि यी स्थानहरूमा विशेष पूजा गर्ने चलन छ ।कोभिडका कारण लामो समय बन्द रहेको नेपाल–भारतको सीमा केही दिनअघिदेखि खुलेपछि जनकपुरधाममा भारतीय धार्मिक पर्यटकको आवागमनसमेत बढेको छ ।

दशैँको अवसरमा जनकपुर उद्योग वाणिज्य संघले लगाउने सस्तो बजार यसपालि पनि लगाइएको छ । बजारभन्दा सस्तो दरमा घरायसी समानदेखि जुत्ता, चपल्लसहितका सामानहरू पाइने भएकाले ग्रामीण क्षेत्रबाट पनि दैनिक हजारौँको संख्यामा सर्वसाधारण जनकपुरधाम आउने गर्छन् ।बजारमा चहलपल बढे पनि कोभिडका कारण सुस्त अवस्थामा रहेको जनकपुर बजारको व्यापारमा खासै सुधार नआएको स्थानीय व्यापारीहरूको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.