काठमाडौं । माधव कुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिन्ह कलम राख्ने भएको छ । नेकपा एसको आज बसेको स्थायी कमिटी बैठकले चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको हो ।
चुनाव चिन्हका लागि कानूनी प्रक्रिया मिलाउने पनि बैठकले निर्णय गरेको छ ।नेकपा समाजवादी पार्टीका अध्यक्ष जीवन राईलाई केन्द्रिय सदस्य दिएर नेकपा एसले चुनाव चिन्ह कलम राख्न लागेको हो ।
यस्तै नेकपा एसले तीन जना पदाधिकारी थप गरेका छन् । तीन जनालाई पदाधिकारीमा मनोनयन गर्दै नेकपा एसले पदाधिकारीको संख्या २१ पुराएको छ । सचिव जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ।
यस अघिका सबै उपमहासचिवलाई महासचिव बनाउने बैठकले निर्णय गरेको छ । अब नेकपा एसमा चार महासचिव हुनेछ । सचिवहरुमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।
नेकपा एसले बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र विजय गुरुङ रहेको केन्द्रीय कार्यालय स्थापना गरेको छ । भुसालको नेतृत्वमा ११ जना सदस्यको केन्द्रीय सचिवालय पनि गठन गरेको बताइएको छ।
नेकपा एसको केन्द्रिय सदस्य ३०१ जनाको बनाएको नेता विरोध खतिवडाले बताए । सचिवालय बैठक बसेर केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिने पनि उनले बताएका छन् ।
यस्तै केन्द्रीय आयोगमा ३५, स्थानीय कमिटीमा ६ पदाधिकारी, जिल्ला कमिटी १०१ र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि बैठकले निर्णय गरेको छ।
पार्टीले आगामी दिनमा पोलिटब्युरो गठन गर्ने बताएको छ । यस्तै बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन गरेको छ ।