नेपालले सीमानाका खोले तर भारततर्फबाट अवरोध

जनकपुरधाम । कोरोना महामारी कारण विगत डेढ वर्षदेखि बन्द रहेको सीमानाकाहरू नेपाल सरकारले गत साता खोल्ने निर्णय गरेको छ । तर, प्रदेश २ का जिल्लाहरूको मुख्य नाकाहरू समेत अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पर्सा र रौतहटमा केही नाकाबाट भारतीय गाडीहरू आउने र जाने गरे पनि सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लाको नाकाबाट भारतीय गाडीसमेत आवतजावत गरेको देखिँदैन ।

धनुषाका जटही, महोत्तरीको भिट्ठामोडमा नाकाहरूमा भारतीय सुरक्षाकर्मी एसएसबीले नेपालीलाई मोटरसाइकल चढेर पनि भारतीय बजार जान दिएको छैन । माथिबाटै सवारीसाधन आवतजावत गर्न नदिने निर्देशन आएको जटही नाकामा खटेका एक भारतीय एसएसबीले बताए ।

‘नेपाल सरकारले बोर्डर खोलेको छ । तर, हामीलाई हाम्रो पक्षबाट नाका खुला गर्न अहिलेसम्म त्यस्तो कुनै निर्देशन आएको छैन । बिहारमा ग्रामपञ्चायतको निर्वाचन भइरहेकोले पनि सीमामा कडाइ गर्न निर्देशन आएको छ’, उनले भने ।

धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ । तर, मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर, अहिले सुनसान छ । न नेपाली सवारीहरू भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरू नेपाल आउँदै गरेको । सीमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ ।

सिरहाको नाकाहरू पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन । धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले भने, ‘हाम्रोतर्फबाट सीमानाका खुला छ । तर, भारततर्फबाट अवरोध भइरहेको छ । उहाँहरूले कुन कारणले अवरोध गरिरहेको रु यो विषयमा पराराष्ट्र मन्त्रालयले पहल गर्नुपर्छ ।’

नाकाबाट यात्रुबाहक सवारीहरू आवतजावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् । दसैँका बेला एउटा नाकाबाट मात्र दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर, गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् उनीहरू । सवारी नचल्दा व्यवसायीसमेत मर्कामा परेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.