मन्त्रालयको विषयलाई लिएर पौडेल समूहमा असन्तुष्टि नै असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस पौडेल समूहमा मन्त्रालयको भागबण्डाको विषयलाई लिएर असन्तुष्टि व्यक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय ७ जना नेतालाई सरकारमा सहभागी गराउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह दुई मन्त्रालय स्वीकार नगर्ने अडानमा छ ।

बुधबार बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, प्रधानमन्त्री देउवाले दुई भन्दा बढी मन्त्रालय दिन नसक्ने बताएपछि पौडेल समूह असन्तुष्ट भएको हो । पौडेलले आफ्नो समूहमा भएका तीन (पौडेल, कोइराला र सिंह) गुटबाट एक–एक जना सरकारमा पठाउनुपर्ने बाध्यता सुनाएका थिए । तर, देउवाले पौडेलको बाध्यताको सुनुवाइ गरेनन् ।

देउवाले महाधिवेशनमा सहयोग गर्ने सर्तमा पौडेल समूह छोडेर आउने नेतालाई आफ्नो तर्फबाट मन्त्री बनाउने रणनीति बनाइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

मन्त्री बनाउँदा पौडेल समूहमा देखिने असन्तुष्टि क्यास गर्ने देउवाको तयारी रहेको उनी निकट नेता बताउँछन् । अहिलेसम्म देउवाले किस्ता–किस्तामा गरी गृहमा बालकृष्ण खाण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् ।

उनी अझै आफ्नो समूहबाट एक मन्त्री र दुई राज्यमन्त्री बनाउने तयारीमा छन् ।

पौडेल समूहका लागि दुई मन्त्रालय छुट्याएका प्रधानमन्त्री देउवाले सिटौला समूहका लागि एक मन्त्री भाग लगाएका छन् । सिटौला समूहमा दुई मात्र सांसद भएकाले यसमा कुनै समस्या छैन । तर, पौडेल समूहमा भने तीन समूहबीच दुई मन्त्रीको नाम दिन सकस परेको छ । पौडेलले दिलेन्द्र बडू र तेजुलाल चौधरी मध्ये एक जना रोज्ने पक्का छ ।

यता महामन्त्री शशांक कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजाल मध्ये एक जना उठाउन खोजेका छन् । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय मात्र दिने बताएपछि प्रकाशमान सिंहले भाग नपाउने अवस्था आएको छ ।

सिंहले राजन केसीलाई मन्त्री बनाउन खोजेका थिए । पौडेल र कोइराला पक्षबाट सरकारमा सहभागिता हुने देखिएपनि सिंह आक्रोशित छन् । पौडेल समूहको बैठकमा देउवासँग संसदीय दलमा भिडेकाले पार्टीको विपक्षी नेता आफू भएको सिंहको दाबी थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.