यो माथिको तस्वीर कञ्चनपुर जान टिकटका लागि बसपार्कमा भौतारिँदै गरेका एक दम्पतीको हो । उपचारका लागि कञ्चनपुरबाट काठमाडौं आएका उनीहरु घर जान टिकट नपाएपछि बसपार्कमा भौतारिँदै टिकट मिलाइदिन अनुरोध गर्दै गर्दा नेपाल क्विकका फोटोग्राफर सञ्जय खड्काले तस्वीर लिएका हुन् ।
काठमाडौंमा आफ्नो कोही पनि नभएका उनीहरु टिकटका लागि असोज २० गते बसपार्क आएका थिए । उनीहरुलाई पुन: २१ गते आउन भन्दै फर्काइयो । दोस्रो दिन पनि टिकटका लागि बसपार्क आएका उनीहरु टिकट नपाएपछि टिकट काउन्टर, सवारीसाधन चालक र ट्राफिक प्रहरीसँग टिकट मिलाइदिन र बसमा चढाइदिन अनुरोध गरिरहेका थिए। तर, उनीहरुले टिकट पाएनन् । बरु पुन: भोलि आउन भनियो ।

सवारीचलकले यसो भनिरहँदा वृद्ले नियउरो अनुहार लगाउँदै आफू टिकटका लागि हिजो पनि आएको गुनासो गर्दै बरु पैसा बढी तिर्न राजी भएको सुनाउँदै भनिरहेका थिए ‘आज पनि बिरामी लिएर आएको छु । मेरो यहाँ कोही पनि छैन । तपाईंलाई विश्वास लाग्दैन भने श्रीमतीलाई उपचार गराएको हस्पिटल कार्ड छ । त्यो पनि हेर्नूस् । म कहाँ जाने । कहाँ बस्ने बुढो मान्छे । ठाउँ पनि त्यति थाहा छैन। पैसा कति लाग्छ त्योभन्दा धेरै दिन तयार छु । मलाई सिट चाहिँदैन । श्रीमतीलाई सानो बस्ने ठाउँ भए म उभिएरै जान्छु ।’

अन्दाजी १८ वर्षे युवकले उनीहरुको झोला बोकेर सहयोग गरिरहेका थिए । उनीहरुलाई सहयोग गर्ने युवक उनीहरुका अलि टाढाका रिलेसन हुन् ।

