काठमाडौं । प्रहरी प्रधान कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बलात्कारसम्बन्धी दुई हजार ५३२ र बलात्कार प्रयासका ७३६ दर्ता भए । त्यसैगरी, २०६७/०६८ मा ४८१ बलात्कार घटनासम्बन्धी घटना दर्ता भए ।
आव ०७२/०७३ सम्म बलात्कार हुनेहरुको संख्या एक हजार ८९ पुगेको छ । यस्तै, आव ०७५/०७६ मा बलात्कारसम्बन्धी दुई हजार २३० केस दर्ता भएकामा आव ०७७/०७८ मा दुई हजार ५३० पुगेको छ ।
महिला पुनर्थान केन्द्रका अनुसार १६ वर्षभन्दा कम उमेर समूहका ५१ प्रतिशत, १७ देखि २५ उमेर समूहका २९ प्रतिशत, २६ देखि ३५ उमेर समूहका ११ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका ६ प्रतिशत र ४६ देखि माथिका तीन प्रतिशतमाथि बलात्कार हुन्छ ।
२०७५ साउन १० गते कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकामा घटेको घटनाले देशभर सनसनी मच्चायो । घटना थियो १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या । अपराधीलाई कारबाहीको माग गर्दै नारा जुलुस र प्रदर्शन चल्यो । तर, तीन वर्षसम्म अपराधी पहिचान हुन सकेन ।
त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकाकी भागरथि भट्टको पनि बलात्कारपछि हत्या भयो । उक्त घटनामा संलग्नता भएको आरोपमा उनकै सहपाठी दिनेश भट्ट पक्राउ परे । बलात्कारका यी घटनाका परिवेश फरक छन् । तर, प्रवृति, पीडा र व्यथा एउटै छन् । तथ्याङ्कले बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको देखाउँछ । यस्ता घटनामा सबै उमेर समूहका पुरुष संलग्न छन् ।
पितृसत्तात्मक सोचका कारण समाजमा बलात्कारका घटना घटेको बताउँछिन् अधिवक्ता रितु थापामगर । ‘महिलालाई यौन साधनको रुपमा लिनु, समाजमा महिलाभन्दा पुरुष ठूलो र माथिल्लो तहमा रहनुपर्नेजस्ता व्यवहार र चलनका कारणले यस्ता घटना घटिरहेका छन्,’ उनी भन्छिन्, ‘बलात्कारका घटना गाउँमा मात्रै नभएर शिक्षित मानिने शहरमा पनि उत्तिकै छ ।’ समाजमा बाबुले आफ्नै छोरीमाथि बलात्कार गर्नेजस्ता घटना घट्ने गरेको उनी बताउँछिन् ।
त्यसैगरी, समाजशास्त्री विष्णु दाहाल समाजको रुपान्तरण र भौतिकवादी चिन्तनबीच बाच्ने चेष्टामा मान्छेबाट बलात्कारजस्ता जघन्य अपराध हुने गरेको बताउँछन् । ‘संसारभरमा बसाइसराइ बलात्कारको कारक तत्वको रुपमा देखिन्छ । कुनै घरको पुरुष रोजगारीका क्रममा होस् या अन्य कुनै कारण घरबाट टाढा बस्दा र घरमा उपस्थित नहुँदा पनि यस्ता घट्ना हुने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालमा यौनजन्य कुरा हेर्ने, यौन उत्पीडन पोखाउने र सामाजिक सञ्जालबाट हुने चिनजान र भेटघाटका कारण पनि बलात्करका घटना हुने गरेका छन् ।’
समाजमा वर्षौसम्म श्रीमान् र श्रीमती टाढिएर बस्दा परिवारको माया नपाउनाले सामाजिक सञ्जालमा भेटिएका व्यक्तिसँग सजिलै नजिकिँदा यस्ता घटना घट्ने गरेको उनी बताउँछन् ।
समाजशास्त्री दाहाल भन्छन्, ‘सानो कुरामा विश्वास गर्ने, आफूमाथि भएको यौन हिंसाबारे खुलेर बोल्न नसक्नाले साना उमेर समूहका बालिका बलात्कारको सिकार बन्ने गरेका उनी बताउँछन् ।
एक अध्ययन अनुसार ८० प्रतिशत बलात्कार आफ्नै आफन्त, परिवार र चिनेजानेकाबाट हुन्छन् भने बाँकी २० प्रतिशत नचिनेकाबाट हुन्छन् । बलात्कार घटनामा संलग्न वा दोषी ठहर भएकालाई पीडितको उमेरअनुसार सजाय तोकिएको छ । मुलुकी अपराध ऐन २०७४ मा बलात्कार गर्नेलाई जन्मकैद र हाडनाताभित्र बलात्कार गर्नेलाई जन्मकैदजस्ता सजाय गर्ने व्यवस्था छ । तर, कार्यान्वयन पक्ष न्यून छ ।