कैलाली । नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आँखा राखेको छ । अहिले जसपाबाट २ नं. प्रदेशमा मुख्यमन्त्री छ । नेकपा माओवादीबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा मुख्यमन्त्री छ । यस्तै गण्डकीमा मांग्रेसको मुख्यमन्त्री छ । प्रदेश नं. १ र बागमतीमा भने नेकपा एमालेको मुख्यमन्त्री छ ।
सत्ता साझोदार गठबन्धनले सबै ठाउँमा समान हैसियत खोजेपछि प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्रीमा सहयोग गर्ने निर्णय गरिसकेको छ । माओवादीले पाइरहेको तीन मुख्यमन्त्रीबाट एक कांग्रेसले लिने विषयमा कांग्रेसले चासो बढाएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुदूरपश्चिम कांग्रेस सांसदहरूले मुख्यमन्त्री परिवर्तनको लागि औपचारिक आग्रह गरेका छन् । सुदूरपश्चिमका नेता डा. रणबहादुर रावलसहितले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मुख्यमन्त्री परिवर्तनको लागि औपचारिक आग्रह गरेका हुन् ।
सुदूरपश्चिम कांग्रेस दलका नेता रावलसहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्काले प्रधानमन्त्रीसँग औपचारिक छलफल समेत गरेको बताइएको छ । कांग्रेसले सुदूरपश्चिम सरकारलाई सहयोग गरिरहेको भएपनि सरकारले कांग्रेसलाई बेवास्ता गरेको रिर्पोटिङ समेत भएको थियो ।
अहिले सुदूरपश्चिम प्रदेशमा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् । एक जना जसपा र एक जना लोसपाका सांसद छन् ।