काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सिफारिसमा मन्त्री बनेको आरोप लागेका हमालले मन्त्री बनेको दुई दिनमै प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् । हमालले शक्रबार मात्रै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनको भनाइ छ ।
‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’
हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेका छन् ।