सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाका ३ जना वडा अध्यक्षसहित १७ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयमा शुक्रबार दल परिवर्तनको सनाखत गर्दै नेकपा एमालेबाट निर्वाचित ३ वडा अध्यक्षसहित १७ जना जनप्रतिनिधिले नेकपा एस रोजेका हुन् ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल परिबर्तनको समय सीमा तोकेपछि सुरुङ्गा नगरपालिका वडा नम्बर २ का अध्यक्ष बिष्णु बहादुर थापा, वडा नम्बर ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरी, वडा नम्बर ८ का ईन्द्र देव चौधरी, कार्यपालिका सदस्यहरु खेमराज सिंह दनुवार, निर्मला सदा, बुधन पासवान, हिरा कुमारी चौधरी लगायतका १७ जना जनप्रतिनिधिले नेकपा एसको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोशिले बताए ।
नेकपा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिहरु नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि रहेको नेकपा एसकी नेतृ ममता चौधरीले जानकारी दिईन्। सुरुङ्गा नगरपालिकाबाट आइतबार थप ५ जना जनप्रतिनिधिले नेकपा एसको पक्षमा सनाखत गर्ने जानकारी चौधरीको भनाईरहेको छ।
चौधरीले भनिन् ,´दल परिवर्तनका लागि निर्वाचन कार्यालयले तोकिएको समय सीमाभित्र एमालेबाट निर्वाचित १ सय ५० जना भन्दा बढी जनप्रतिनिधि नेकपा एसमा आउने छन्।`
नेतृ चौधरीका अनुसार आइतबार सम्ममा सप्तकोशी, कंचनरुप, खडक नगरपालिकासहितका स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरि सक्ने छन्।
सप्तरीमा १८ स्थानीय तह मध्ये सप्तकोशी र कंचनरुप नगरपालिकामा नेकपा एमालेको नगरप्रमुख रहेका छन् भने एक प्रदेश सभा सदस्य निर्वाचित छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् नेकपा एमालेका अध्यक्ष गोबिन्द बहादुर न्यौपानेले यसअघि नै नेकपा एसको पक्षमा सनाखत गरिसकेका छन् ।
