फ्याँकेको फोहोरमा लाखौँको मोहोर

काठमाडौं । लगभग रातको १० बजे गौशालास्थित तिलगंगा अघिको सडकपेटि चकमन्न थियो । सडकमा ट्याक्सी र बाइकहरु गुडिरहेका थिए । सडकको छेउमा फोहोरको थुप्रो फ्याँकिएको थियो । सोहि थुप्रोमा केहि हराएर खोजे जस्तो गरीरहेका देखिन्थे एक युवा । उनि धरानको ३३ वर्षिय धनराज राई (नाम परिवर्तन) रहेछन् । बङ्गुरको दानाका लागि उनी फोहोरमा खानेकुरा खोज्दा रहेछन् ।

राति सबै मानिस आफ्नो काम सकेर सुत्ने तरखर गरिरहँदा उनको भने काम सुरु हुने रहेछ । जब रातको १० बज्छ, उनि आफ्नो बाइकमा ६, ७ वटा रबरको भाँडा बोकेर निस्किदा रहेछन् । त्यहि फोहरमा संकलन गरेको खानेकुराहरु उनले आफ्नो बंगुर फर्ममा लगेर बंगुरलाई दिने गर्दा रहेछन् ।
उनको बङ्गुर फर्म ललितपुर छ ।

फर्म ललितपुरमा भएपनि धनराज काठमाडौं र भक्तपुर लगायतका विभिन्न ठाउँमा पुग्दा रहेछन् । जहाँ फोहोर देख्छन्, उनी खोज्न थाल्छन् । धनराज जताजता फोहोरको थुप्रो भेटिन्छ, बङ्गुरले खाने खालका सबै फोहोर उठाएर भाँडामा हाल्ने गर्छन् । धनराज भन्छन्, ‘मानिसको घरबाट निस्कने कुहिने खालका सबै फोहोर प्राय काम लाग्ने हुन्छ’ ।

धनराजले मानिसले आधा खाएर फालेका खाना, तरकारीका बोक्राहरु घिन नमानीकन फोहोरबाट संकलन गर्छन् । फालिएका बासि खाना बङ्गुरले मज्जाले खाने र पैसा पनि नपर्ने भएकाले फोहोरमा बंगुरको दाना खोज्न उनी हरेक रात निस्किने गर्छन् ।
फोहोर केलाउन हतारिदै उनी भन्छन्, ‘नलजाईकन मिहेनत र तरीका पु¥याउने हो भने देशमा नै राम्रो आम्दानी हुन्छ ।

विदेशको भन्दा राम्रो आम्दानी हुन्छ’ । उनले यहि फोहोर संकलन गरेर मासिक एकलाख भन्दाबढि कमाई गर्छन् । कमाई जस्तै मिहिनेत भने त्यही अनुसारको हुने उनको धारणा छ । कहिलेकाँहि फोहोरमा बङ्गुरको दाना खोज्दै गरेको बेला साथीभाईले भेट्लान कि भन्ने डर छ धनराजलाई ।
हातमा पन्जा, मुखमा माक्स र शरीर पुरै ढाक्ने कपडा लगाएर राती फोहोरको थुप्रो चाहार्दै निस्कन्छन् धनराज । दशैंमा बंगुरको राम्रो व्यापार गर्ने तयारीमा रहेका उनी हतार–हतार बंगुरको दाना संकलनमा व्यस्त छन् ।

दशैंमा व्यापार गर्नुपर्ने भएकोले चाँडबाँडमा गाउँ जाने फुर्सद पाउँदैनन् धनराज । उनी भन्छन्, कमाउनु छ भने दशैं भनेर घर जान सकिन्न । ब्यापार छोडेर हिड्ने हो भने बेरोजगार हुने उनको तर्क छ ।
दशैंमा गाउँ जाने मन नभएको भने होइन । तर कमाउने बेलामा व्यापार छोडेर जाने मन उनलाई छैन । दशैंमा घर गएर साथीभाई आफन्त र परिवारसँग रमाउने मन धनराजलाई पनि छ । यस्तो बेलापनि परिवार पाल्नको लागि व्यापार गरेर बस्नुपर्दा धनराजको मन पनि खिन्न नभएको होइन ।

दशंैंको बेला पनि दिनभरी बङ्गुरको स्याहार गर्दै ठिक्क हुन्छ धनराजलाई । रातभरी दाना खोज्नुपर्यो, दशैंको दिन बङ्गुरलाई भोकै राख्न भएन । खोइ कति खेर दशैं मनाउनु, उनले भने । व्यापार त राम्रो भइरहेको छ । तर चाँडबाँड आनन्दले मनाउन पाइरहेको छैन । बंगुरको दाना खोजेर महिनाको लाख भन्दाबढि जोगाउँछन् उनी । यसो त बंगुर पालनबाटै बार्षिक १५ लाख माथी कमाउँछन् धनराज ।

किनेर दाना खुवाउन नसकेपछि उनले फोहोरमा दाना संकलन गर्ने योजना बनाएका थिए । अहिले त्यहि योजनाबाट उनले मासिक लाखबढि बचत गर्छन् । इच्छाशक्ति र काम गर्ने जाँगर भए फोहोरमा पनि मोहोर कमाउन सकिन्छ भन्ने उदाहरणीय पात्र हुन्, धनराज राई ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.