काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म भएका सामाजिक परिवर्तनहरुलाई संस्थागत गर्नुपर्ने मुख्य कार्यभार भएको बताएका छन् । उनले मंगलबार हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा शुभकामन शन्देशमार्फत यस्तो बताएका हुन्। नेपालका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनका बीचमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउदै आएकोसमेत उनले बताएका छन् ।
उनले शुभकामना सन्देशमार्फत् भनेका छन् । हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो,’।
उनले कोभिड–१९ का कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै दसैं, तिहार, नेपाल संवत्, छठ लगायत चाडपर्वहरु स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरेर मनाउनसमेत आग्रह गरेका छन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन्,’ उनले भनेका छन्, ‘यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो ।’