दशैं जोहोका लागि दशैंमै विदेश यात्रा

दैनिक सय, दुइसय कमाउन सडक पेटी कुर्नुपर्ने उनलाई चाडबाड आएपछि भने साह्रै मन दुख्छ । चाडको बेला दुई छाक मिठो मसिनो खाने रहर नातिहरुको मात्र होइन उनलाई पनि लाग्छ । तर सिमित आयस्रोत भएपछि कतिपय समय मिठो खाने रहर तुवाएर बस्न बाध्य हुन्छिन् उनी । 

काठमाडौं । स्वार्थमा रुमलिएको शहर । यहाँ कसैलाई कसैको वास्ता छैन । एउटा घरमा मरणको शोक मनाइरहँदा अर्काे घरमा विवाहको रौनक मच्चिन्छ । तर पनि धेरैको गन्तव्य शहर नै हुन्छ । समय, परिस्थिति फरक भएपनि बाध्यता प्रायको उस्तै । दुई छाक खान र एक सरो लगाउनकै लागि भएपनि शहर छिर्नुपर्ने बाध्यता धेरैको छ । यस्तै बाध्यतामा बाँधिएकी छिन् ६० वर्षीया शान्ति शरद ।

७७ जिल्लाबाट काठमाडौं प्रवेश गर्ने नाका कलंकी क्षेत्रमा प्रत्येक दिन भिडभाड र कोलाहाल छाइरहन्छ । त्यही कलंकीको एक छेउ, मुखमा मास्क, छेउमा केही थान तामा पित्तलले बनेको औठी र पाउजु देखाउँदै चिच्याउँदै थिइन् शान्ति । उनको आवाजलाई ख्याल गर्दै केही युवायुवती उनको सामान हेर्न व्यस्त थिए । उनले तोकेको ३० रुपैयाँ मूल्यलाई घटाएर २० रुपैयाँमा माग्दै थिए एक जोडी ।

सामान किन्न ग्राहक आएको छ, तर आफ्नो लागतभन्दा कम मूल्यमा माग्दैछन् । ‘खाँउ भने दिनभरीको सिकार नखाँउ भने कान्छा बाउको अनुहार’ भने जस्तै भएको छ उनलाई । एउटा सामान विकाउन पाए भरेको लागि सागसब्जीको जोहो हुन्छ कि भन्ने आशा छ उनको । यसरी नै उनले परिवारको लागि एक छाक खाने जोहो गर्न थालेको पनि निक्कै वर्ष भइसकेको छ ।

१५ वर्षअघि परिवार सहित शहर छिरेकी थिइन् शान्ति । शहर त छिरियो, तर दुई छाक टार्न सक्ने काम भेट्टाउन सकिनन् उनले । जागीर खान पढेकी थिइनन्, व्यापार गर्न आर्थिक अवस्था कमजोर थियो । लगानी जुटाउन सक्ने अवस्था थिएन । कतै केही काम नपाएपछि आफूसँग भएको २ हजार रुपैयाँले पित्तल तामाबाट बनेको औठी, घाँटीमा लगाउने माला, नाक काट्ने नैनी किनेर कलकंकीको सडक पेटीमा बेच्न बसेकी थिइन् उनी ।

धूलो धुँवा अनि सडक पेटीको चिसोसँग उनको राम्रो चिनजान छ । तर ती पेटीमा हिँड्ने मानिसहरुले उनलाई चिन्दैनन् । उनको दुख अनि पिडा बुझ्दैनन् ।

प्रत्येक साँझ ५ बजेपछि केही सामान बोकेर उनी त्यही सडक पेटीमा पुग्छिन् । बेलुकी ८ बजेसम्म यसरी नै सस्तो सस्तोमा भन्दै कराउाछिन् । मुस्किलले दिनमा सय डेढ सयको व्यापार हुन्छ । कुनै बेला त्यो पनि हुँदैन । अर्को दिन बेच्ने सामान र रासनको लागि केही रुपैयाँ छुटाउँछिन् । उनले यसरी रुपैयाँ छुटाउन थालेको पनि १५ वर्ष वितिसकेको छ ।

छन त उनको परिवारमा छोरा बुहारी अनि ४ नातिहरु छन् । छोरा वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । बुहारी ठेलागाडामा चटपटे र पानीपुरी बेच्छिन् । दैनिक एक हजारसम्मको व्यापार गर्छिन बुहारीले छोराले खासै केही आय आर्जनको काम गरेको छैन ।

उनी र बुहारीको कमाइले घर खर्च, चार जना नातिको पढाइ खर्च र उनीहरु बस्ने छाप्रोको मासिक ३ हजार रुपैयाँ समेत धान्नुपर्छ । काठमाडौंमा छोरा वेरोजगार भएपछि विदेश पठाउन हतारिएकी छिन् शान्ति । सासु बुहारीको कमाइले ७ जनाको परिवार धान्नुपर्ने बाध्यता छ अहिले । छोरा विदेश गएपछि आर्थिक अवस्था सुध्रिने विश्वासले उज्यालिन्छ उनको मुहार ।

दैनिक सय, दुइसय कमाउन सडक पेटी कुर्नुपर्ने उनलाई चाडबाड आएपछि भने साह्रै मन दुख्छ । चाडको बेला दुई छाक मिठो मसिनो खाने रहर नातिहरुको मात्र होइन उनलाई पनि लाग्छ । तर सिमित आयस्रोत भएपछि कतिपय समय मिठो खाने रहर तुवाएर बस्न बाध्य हुन्छिन् उनी । यसपालि पनि दशैं नजिकिएको छ । घर जाने ठूलो रहर छ उनलाई ।

तर काठमाडौंदेखि लाहान पुग्न एक जना बराबर एक हजार रुपैयाँ भाडा लाग्ने भएपछि गाउँ नजाने सोचमा छिन् उनी । ७ जनाको लागि आउन जान मात्रै १४ हजार रुपैयाँ लाग्छ । यत्ति धेरै पैसा कहाँ बाट ल्याउने ? दशैं पछि शान्तिका छोरा विदेश उड्ने तयारीमा छन् । यसपालिको दशैं जसोतसो यतै मनाउने परिवारको सल्लाह भएको छ । अब छोराले कमाएर पठाएपछि अर्काे वर्षको दशैंमा भने घर जाने योजनामा छिन् शान्ति ।

यो दशैंमा घर जान नपाएपनि अर्को दशैंमा घर जानेगरि पैसा कमाउनु पर्छ भन्दै उनले छोरालाई विदेश जान सुझाएका छन् । उनका छोराले पनि यो बर्ष दशैं यस्तै भो अर्को बर्षको दशैं जोहो गर्नकै लागि भएपनि म विदेश जान्छु आमा भन्दै उनलाई भन्ने गरेको शान्तिले सुनाईन् । दशैं जोहोकै लागि र घर परिवार चलाउन चाडबाडको बेला विदेश जानेमा शान्तिको परिवार मात्रैं पर्दैनन् । चाडबाडकै समयमा दैनिक दर्जनौं युवाहरु विदेशिने गरेको दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.