अलमुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

काठमाडौँ  ।  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई बुझाइसके ।

साफको यो निर्णय सुन्दा अलमुताइरीले असन्तुष्टि जनाएका छन् । उनले यो नियम विपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । हिजो बिहानभएको भर्चुअल पत्रकार सम्मेलनमा उनले यो उनलाईमात्र दिएको सजाय नभएर सम्पूर्ण नेपाली र एन्फालाई दिइएको बताएका छन् ।

अलमुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो। पछिल्लो खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको हो । साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे माल्दिभ्सको राजधानी मालेमा सञ्चालन हुँदैछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.