हिजो नेकपा हुँदा गुट चलाउनेहरु आज पार्टी अध्यक्ष भएर आआफ्ना पार्टी चलाइरहेका छन् । पार्टी कार्यालय खोलेर जनताका नाममा एकअर्कालाई गाली गर्न व्यस्त छन् । तीनवटै दलले सिद्धान्तका नाममा मार्क्सवाद–लेलिनवाद र समाजवादका ब्यानर टाँगेका छन् ।
काठमाडौं । २०७४ मा भएको निर्वचनपछि नेकपा एमाले र माओवादीबीच भएको एकतासँगै राजनीतिक प्रतिस्पर्धी प्रजातान्त्रिक र कम्युनिस्टबीच हुने अपेक्षा र अनुमान दुवै थियो । पार्टी एकतासँगै नेपालमा कम्युनिस्टले ५० वर्ष शासन गर्ने उद्घोष र परिस्थिति पनि त्यस्तै थियो ।
प्रदेश २ बाहेक सबै प्रदेश र स्थानीय तहमा एकलौटी कम्युनिस्ट सरकार थिए । तर, दुर्भाग्य यो विरासत एक कार्यकाल अर्थात् पाँच वर्ष पनि टिक्न सकेन । एक्लै सरकार बनाउन सक्ने नेकपा एमाले, माओवादी र एसको नाममा केन्द्रदेखि स्थानीय तहसम्म आआफ्नै पसल चलाउँदै छन् । ईश्या, स्वार्थ, पदलोलुपतालाई प्रश्रय दिइ पसल खोल्न र खुलाउन वातावरण सिर्जना गर्नेहरु नै पसलका मालिक बनेका छन् ।
हिजो नेकपा हुँदा गुट चलाउनेहरु आज पार्टी अध्यक्ष भएर आआफ्ना पार्टी चलाइरहेका छन् । पार्टी कार्यालय खोलेर जनताका नाममा एकअर्कालाई गाली गर्न व्यस्त छन् । तीनवटै दलले सिद्धान्तका नाममा मार्क्सवाद–लेलिनवाद र समाजवादका ब्यानर टाँगेका छन् । अनि त्यसमा केहीले जबज थपेका छन् । र, भन्दैछन् हाम्रो गन्त्यस्थल समाजवाद हो ।
समाजवादलाई अन्तिम गन्तव्यस्थल मान्ने तीनवटै मालिक यतिखेर एकअर्कालाई प्रतिगामी, दक्षिणपन्थीजस्ता आरोप लागाउन व्यस्त छन् । समाजवाद के हो भन्ने कुरामा स्पष्टता र मतैक्यता छैन । र, केलाई समाजवाद भन्ने कुराको मापदण्ड पनि छैन ।
नेपालले समाजवादलाई राज्य सञ्चालनको मार्गदर्शकका रुपमा लिएको छ । राजनीतिक गफमा मात्रै नभएर चिया पसलदेखि गम्भीर विचार–विमर्शमा समाजवाद व्यापक छ । राजतन्त्रको अन्त्यसँगै आएको गणतन्त्रसँगै आएको यो समाजवाद सुन्दर अक्षरका समूह मात्रै होइनन् ।
समाजवाद स्थापनार्थ खाका तय अघि बढे केही दशकपछि असम्भव नहोला । तर, पसलको ब्यानरमा एउटै नारा लेखेर स्वार्थ मिल्दा एउटै चुनाव चिन्हमा चुनाव लड्ने, सहकार्य गर्ने । स्वार्थ र पदलोलुपतालाई खल्तीमा हालेर समाजवादलाई आदर्शका रुपमा मात्र लिँदा कम्युनिस्टबाट समाजवाद असम्भव छ ।
नेपालमा कम्युनिस्टबाट समाजवाद कार्यान्वयन गराउने हो भने एमाले, माओवादी र एकीकृत मूल धारका कम्युनिस्टले समाजवादबारे स्पष्ट पार्नुपर्छ । एकले अर्कालाई हिलो छ्यापेर कम्युनिस्टबाट समाजवाद सम्भव छैन । त्यसका लागि आदर्शका रुपमा भनिने लेनिनवाद, माओवाद, जबजजस्ता सिद्धान्तलाई अनुहार बनाएर स्वार्थपूर्ति गर्ने कार्यको अन्त्य हुनुपर्छ ।