सडक पेटीमा बाध्यताको बास

काठमाडौं । बेलुकीको ठिक ९ बजेको थियो । काठमाडौंको चावहिल मित्रपार्क वरपरको वातावरण सुनसान बन्दै थियो । केहि संख्यामा सवारी साधन सडकमा गुडिरहेका थिए । धेरै मान्छेहरु आफ्नो कार्यस्थलबाट आ–आफ्नो बासस्थानतिर पुगिसकेका थिए, भने अधिकांंस आफ्नो कोठातिर जाँदै थिए । त्यहि समय एक महिला र पुरुष सडकमा झिटी झाम्टा बोकेर हिँडिरहेका थिए । बास बस्ने बेला झिटी झाम्टो बोकेर हिडेका उनीहरुलाई देख्दा बाटोमा हिँड्ने धेरैको मनमा खुल्दुली लाग्छ नै ।

बाहिरबाट हेर्दा कसैले पनि मानिसकोे भित्रि पीडा थाहा पाउन सकिदैन । रातको समय गन्तव्य विहिन दुई यात्री सडकमा भौतारिरहेका छन् । जाने कुनै ठाउँ छैन । हिँड्दा हिँडदै जब गोडा थाक्छ उतै बास हुन्छ उनीहरुको । इलाम घर बताउने उनीहरु नाताले श्रीमानश्रीमती रहेछन् । काठमाडौंको सडकमा रातभर भौतारिनु पर्ने यी दुई श्रीमान् श्रीमातीको वास्तविकता भने यस्तो रहेछ ।

श्रीमानको नाम सबिन क्षेत्री अनि श्रीमतीको नाम शिवकला क्षेत्री । सबिन उमेरले ३५ वर्ष पुगीसकेका छन् भने शिवकला भरखरै ३३ वषकी रहेछिन् । सबिनको घर इलाम, ससुरालीभने झापा रहेछ । इलामदेखि काठमाडौंको यात्रा तय गरेको ३ वर्ष वितेछ । ४ वर्षे छोरालाई माइतीमा छाडेर आएकी शिवकलालाई बेलाबेलामा छोराको यादले सताउँछ । वास्तवमा यी दम्पति छोराकै भविष्यका लागि काठमाडौं छिरेका थिए । राम्रो लाउने, मिठो खाने र छोरालाई राम्रो शिक्षादिने सपनाका अनगिन्ति पोका बोकेर शहर छिरेका उनीहरु ती सपनाको छेउ नपुग्दै झिटी झाम्टो बोकेर सडकमा भोतारिनु परेको छ ।

उनीहरुले घर छाडेर हिँड्दा छोरा भरखरै एक वर्ष पुग्दै थियो । अहिले छोराले ४ वर्ष लागि सक्यो । छोरासँग भेट नभएको पनि तिन वर्ष वितिसकेको छ । छोराको उज्वल भविष्य भन्दापनि छोराले आफूहरुलाई नै नचिन्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ यीदुई श्रीमानश्रीमतीलाई । शिवकलाले आफू रोजगारीका लागि काठमाडौं छिर्ने योजना बनाएसँगै छोरालाई उनको बुबाआमासँग राख्ने विचार गरेकी थिइन् । मामाघरमा छाडेर हिँड्दा छोराको लालनपालनमा पनि समस्या नहुने सोचले उतै छाडेका थिए ।

सानैमा मावली छाडेर आएको छोराले ३ वर्षसम्म आमाबुबाको माया ममता पाएको छैन । मायाको त के कुरा आमाबुबाको अनुहारसम्म देखेको छैन । यताभने सबिन र शिवकलाले दुई छाक खान र ओत लाग्ने ठाउँसम्म पाएका छैनन् । बेलाबेलामा छोराको यादले धेरै सताउँछ यी दम्पत्तिलाई । अझ धेरै सताउँछ शिवकलालाई । नौ महिना कोखमा राखेर जन्माएको छोरालाई चट्क्क छाडेर हिँड्न पर्दाको पिडा जुन आमालाई पनि सहन गाह्रो हुन्छ । छाडेर आएदेखि घर फर्कन समेत पाएकी छैनन् उनी ।

स्वार्थ र अहंकारमा रमाइरहेको शरमा केही रुपैयाँ कमाउन नसक्दा आफन्तले समेत वास्ता नगर्ने उनीहरु बताउँछन् । कमाउन नसकेपछि कसैले कसैलाई सम्मान नदिने विरानो शहरमा मनभरी पीडा बोकेर भौतारिन बाध्य भएका छन् उनीहरु । पेटभरी खाने, राम्रो लगाउने र सुघरमा बस्ने रहर नभएको हैन । तर वाध्यताले उनीहरुलाई सडकमा बस्ने बनाएको छ । यो सबै भाग्यको लेखान्त हो भन्दै चित्त बुझाउँछन् । तर मन न हो के मान्थ्यो र । मन नमाने पनि आँखा आफै रसाउन थाल्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी सुरु हुनुभन्दा एक वर्षअघि काठमाडौं छिर्दा कलंकी स्थित स्पोर्ट कम्पनिमा काम गर्थे यी दम्पति । दुवैजनाको कमाई भएपछि दुई छाक खान र डेरा भाडा तिर्न कठिन् थिएन । छोरालाई पढाउने सपना पूरा हुन्छ भन्नेमा विश्वस्त थिए उनीहरु । तर जब कोरोना भित्रियो, उनीहरुको सपना पनि तुहियो । कोरोनाले कम्पनि बन्द भएपछि साथमा भएको केही रकम लकडाउनमै सकियो । कोरोना कमहोला र पुनःकाम गरौंला भन्ने आशले एक वर्ष वित्यो । तर कोरोनाले पहिलो र दोस्रो लहर लिएर आइरह्यो । उनीहरुसँग भएको पैसा पनि सकियो । अरु काम पनि नखोजेको होइन । तर खानपुग्ने पैसा समेत कमाउन नसकेपछि डेराको भाडा तिर्न सक्ने कुरै भएन । डेराको भाडा तिर्न नसक्दा घरबेटीले उनीहरुको सामान निकालेर फ्याँकिदियो । बस्ने ठाउँ नभएपछि सडकको पेटी खोज्दै हिँड्न परेको छ उनीहरुले ।

काठमाडौंको सडक भौतारिने क्रममा सबिनको खुट्टामा घाउ भएको रहेछ । उपचार गर्ने पैसा नभएपछि घाउ जति नै दुखेपनि सहेरै हिँडिरहेका छन् । काम खोज्दै हिँडेका उनीहरु काम नपाएपछि बाटोमा बोत्तल संकलन गरेर बेच्ने अनि त्यही पैसाले खानेकुरा खाँदै हिँडेका छन् । ‘अरुलाई ढाँटेर, चोरेर खान भएन काम गरेर खान के को लाज?’ भन्दै आफ्नो साथमा भएको पुरानो गुन्द्री सडकको पेटीमा बिछ्याएर बसे सबिन । हरेक रात फरक–फरक सडक पेटीमा यसरी नै गुन्द्री बिछ्याएर बित्छ सबिन र शिवकलाको रात । हरेक रातसँग उनीहरुको घनिष्ठ सम्बन्ध । अनि हरेक दिनसँग यथार्थ । न काठमाडौंको दिनले उनीहरुलाई चिन्छ, न रातले नै साथ दिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.