रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवा । रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका(५ )भोर्ले डांडांटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

प्रहरीका अनुसार शनिबार (हिजो )घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो ।

चेकजाँचको क्रममा श्रीमती तामाङ को मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.