तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए ।
त्यस पछि असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् ।
पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । नेपालीको महान पर्व दसैँ बेला छ । दसैँमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा बन्द भएको मौका पारेर कोरोना कहरमा घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किएका छन् । त्यसैको प्रभावले यतिबेला बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।
दसैँको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, उनले भने । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।
पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैतदेखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दशैं पछि बन्दीपुरको पर्यटन चलायमान हुँदै गर्दा दोस्रो लहरको कोरोना फैलिएर गत वैशाखदेखि फेरि बन्द गर्नुपर्यो ।
विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दशैंको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको प्रधानले बताए । उनले अगाडी थप्दै भने, ‘अब बन्दीपुरको पर्यटनले गति लिन्छ कि भन्ने आशा जगाएको छ । हामीले पनि पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’